काठमाडौँ, १५ मङ्सिर (रासस) ः भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतङ्कवादसम्बन्धी समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ ।
एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले आतङ्कवाद विश्व शान्तिका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताउनुभयो । उहाँले आतङ्कवाद मानवाधिकार उल्लङ्घनको विषय भएको बताउँदै आतङ्कवादीलाई ‘बहादुर व्यक्तिका’ रुपमा हेरिनु नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राज्यबाट आतङ्कवाद संरक्षित हुनुहुन्न र आतङ्कवादलाई राज्यले गर्ने सहयोग रोकिनुपर्छ । यस्ता समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्छ ।”
वर्तमान र भविष्यका पुस्ताको भविष्यका सुरक्षाका लागि शान्ति अन्तरसम्बन्धित कुरा भएको र यसलाई साधारण र सरल बनाउनुपर्नेमा जोड दिँदै उहाँले शान्ति सर्वकालिक हुनुपर्ने र यो एक पुस्ताबाट अर्को पुस्तामा पुग्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “भारतमा प्रकृतिलाई आमा मानिन्छ । प्राकृतिक स्रोत प्राणीको आवश्यकताका लागि पर्याप्त छ तर लालचका लागि पर्याप्त छैन । मौसम परिवर्तनका असर कम गर्न भारत वचनबद्ध छ ।” उहाँले खाद्य सुरक्षा र बाँच्न पाउने अधिकारको सुरक्षामा जोड दिँदै विश्वका प्रत्येक नौ व्यक्तिमा एक भोका भएको र उनीहरुको खाद्यमा पहुँच पर्नुपर्ने बताउनुभयो ।
–––
काठमाडौँ, १५ मङ्सिर ९रासस० ः म्यान्माका स्टेट काउन्सिलर आङसान सु कीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिनुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ लाई सम्बोधन गर्दै उहाँले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताउनुभएको हो ।
दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै उहाँले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरीबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।
सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गर्नुभयो । नेता जोलीले आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन ९युपिएफ० अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन शुरु भएको थियो । सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी हुनुहुन्छ । यस प्रकारको सम्मेलन नेपालमा पहिलोपटक भएको हो ।
–––
काठमाडौँ, १५ मङ्सिर (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ ।
एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण र दृढ निर्णय लिएको उल्लेख गर्नुभयो ।
‘‘हामीले शान्ति प्रक्रियालाई आधारभूत रुपमा सम्पन्न गरेका छौँ र हामीले हाम्रो इतिहासको सबैभन्दा कठिनमध्ये एक समयलाई पछाडि छाडेका छौँ । मुलुकको मौलिकतामा भर पर्ने हाम्रो सफल पाठले अरुलाई पनि उदाहरणका रुपमा सिकाउन सक्छ । हामीले जनताका प्रतिनिधिबाट संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पनि सम्पन्न गरेका छौँ’’, उहाँले भन्नुभयो ।
‘‘हाम्रो उद्देश्य भनेको समग्र लोकतन्त्र हो जसले व्यक्ति र राष्ट्रिय जीवनलाई सामाजिक तथा आर्थिक न्यायका साथै सबै अधिकार तथा स्वतन्त्रतामा सबल बनाउँछ । प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाका साथ हामीसँग सबैभन्दा राम्रो संविधानमध्ये एक छ भन्ने म विश्वास गर्छु । नेपालको इतिहासमा पहिलो पटक संविधानले जनतालाई वास्तवमै सार्वभौम बनाएको छ र अब हामीले राजनीतिक रुपमा थप सङ्घर्ष गर्नु पर्र्दैन, यसले नेपाली जनताका लागि नयाँ युग उपलब्ध गराएको छ’’, उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले जनताका यी बलिया उपलब्धिमा टेकेर सामाजिक तथा आर्थिक प्रगति गर्न नसकिए दिगो नरहने भएकाले नेपाल सरकारले दिगो आर्थिक विकासलाई प्राथमिकता दिएको र सरकारको कार्यसूची ‘सुखी नेपाली र समृद्ध नेपाल’ मा आधारित भई सामाजिक आर्थिक सङ्क्रमणतर्फ लक्षित भएको बताउनुभयो ।
उहाँले नेपाली जनताले २०७२ सालमा व्यापक क्षति पु¥याउने भूकम्पपछि पनि राजनीतिक, आर्थिक तथा सामाजिक उद्देश्यका लागि एकीकृत र दृढ भएर शान्ति र सहयोगात्मक रुपमा उच्च लचकता देखाएको बताउँदै हाल पुनःनिर्माणले गति लिएको र आफूहरु छोटो समयमा सो कार्यलाई सम्पन्न गर्ने दृढ रहेको बताउनुभयो ।
उहाँले तीनै तहको निर्वाचनपछि बनेको सरकारलाई संसद्को तीन चौथाइ समर्थन प्राप्त भएको र आफ्नो दलको करीब दुई तिहाइ बहुमत भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वले महत्वपूर्ण नीतिगत स्थायित्व ल्याएको र यसले समाजिक आर्थिक विकासको कार्यमा महत्वपूर्ण प्रभाव पारेको अवगत गराउनुुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले समानता, आपसी सम्मान तथा लाभका सिद्धान्तका आधारमा छिमेकी मुलुकसँग मैत्रीपूर्ण, सहयोगात्मक, सन्तुलित सम्बन्ध राखेको र स्वतन्त्र कूटनीति सञ्चालन गरेको बताउँदै विश्वका प्रमुख शक्तिसँग नेपालको सम्बन्ध हुनाका साथै क्षेत्रीय सम्बन्ध बलियो, बढी स्पष्ट र उत्पादक बनेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली जनताले यी उपलब्धिका लागि ठूलो मूल्य तिरेको तथा अनेकतामा एकता र राष्ट्रियता विश्वासका कारण मुलुकको प्रमुख अभिरुचि भन्दा अन्य कुनै पनि विषय ठूलो हुँदैन भन्ने बुझेको बताउँदै नेपालका मित्र तथा शुभचिन्तकले पनि नेपाललाई शान्तिपूर्ण, स्थिर, लोकतान्त्रिक तथा समृद्ध मुलुक भएको देख्न चाहेको उल्लेख गर्नुभयो ।
–––